लागुऔषधको अड्डा बन्दै सीमावर्ती बजार

शर्मिला गुरुङ

काठमाडौँ, २२ जेठ : पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हुँदै आएको पाइएको छ ।

लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि भनेर काठमाडौँदेखि पोखरा, चितवन र बुटवललगायतका विभिन्न मुख्य बजारबाट युवा जमात पश्चिम नवलपरासीको नाका हुँदै भारतीय बजारसम्म पुग्ने गर्दछन् । खुला सिमानाका कारण किनमेल र घुम्नका लागि भनेर युवायुवती भारत जाने गरेका छन् । अधिकांश प्रयोगकर्ता मोटरसाइकलमा आउने र लुकाएर लागुऔषध ओसारपसार गर्ने क्रम बढेपछि मोटरसाइकल चालकमाथि प्रहरीले निगरानी बढाएको छ ।

नेपाल भारत सिमाना नजिकका भारतीय बजारमा लागुपदार्थ सहजै पाउने भएपछि धैरे नेपाली युवा लागुपदार्थ सेवन र ओसारपसारको कुलतमा फसेका पाइएको छ । खुला सिमाना र नेपालमा प्रतिबन्धित भएका औषधि भारतीय सिमानामा खुलेयाम बिक्री वितरण हुने हुँदा नेपाली युवायुवती कुलतमा फस्नुको मुख्य कारण बनेको छ ।

पश्चिम नवलपरासीका महेशपुर, गुठीप्रसौनी, गेर्मी र पूर्वी नवलपरासीको त्रिवेणी नाकाअन्तर्गत सीमावर्ती भारतीय बजारमा लागुऔषधसम्बन्धी औषधि सहजै पाइन्छ । लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको परिवर्तन नेपाल नामक संस्थाले पनि जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । सेवनभन्दा पनि ओसारपसार गर्ने कार्यमा संलग्नलाई बढी कानूनी कारवाही हुने कुरा प्रचारप्रसार हुन नसक्दा ओसारपसारमा कम आउन नसकेको संस्थाका संस्थापक सदस्य सुवास ज्ञवालीले बताउनुभयो ।

जिल्लाका सीमावर्ती विभिन्न नाकाबाट लागुपदार्थको खुलेयाम बिक्री वितरण बढेपछि प्रहरीले अभियान नै बनाएर यसको रोकथामका लागि काम थालेको छ । यसका लागि प्रहरीले विशेष रुपमा काम गरिरहेको पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । सशस्त्र प्रहरीले पनि लागुऔषध नियन्त्रणका लागि सूष्मरुपमा काम गरिहरेको सशस्त्र प्रहरी बल २६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहार्धन राईले जानकारी दिनुभयो । लागुऔषधको प्रभावकारी नियन्त्रणका लागि प्रहरी र सामाजिक सङ्घसंस्थाले मिलेर सडक नाटक तथा माध्यमिक तहमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । रासस

प्रतिक्रिया