लागुऔषध कारोवार आरोपमा कर्मचारी पक्राउ

राष्ट्रिय समाचार समिति

सुर्खेत, २९ साउन : जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिनुभयो ।

उनीसँगै जुम्ला पातारासी गाउँपालिका–५ पटमारा गाउँ निवासी हाल चन्दननाथ नगरपालिकाको एयरपोर्टमा बस्दै आएका ३६ वर्षीय राजबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।

“फोरेन्सिक ल्याबको परीक्षण र उनीहरुको अन्य वार्तालापको प्रमाणबाट मल्ल र बुढा दुवै जना लागुऔषध कारोवारमा संलग्न रहेको पाइएकाले पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले उनीहरु दुवैमाथि थप अनुसन्धान चलिरहेको छ ।” उहाँका अनुसार मल्ल र बुढाको अनुसन्धानले ठूला कारोवारीको नाम पनि खुल्ने देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खरीदार मल्लको गतिविधिका कारण उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उनीसँगै समातिएका बुढासहित अहिलेसम्म लागुऔषधका नौ जना व्यक्तिलाई समातेर कारवाही गरिएको छ ।

प्रतिक्रिया