लेनिन जयन्तीः अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्झियो लेनिनलाई

admin

काठमाडौं, ९ बैशाख : आज २२ अप्रिल अर्थात् लेनिन जयन्ती । सन् १८७० अप्रिल २२ आजको दिन विश्व सर्वहारावर्गका नेता, माक्र्सवादका विषद व्याख्याता र लेनिनवादका प्रवर्तक भ्लादीमिर इल्यिच लेनिनको जन्म भएको दिन हो ।

लेनिनको जन्म रुसको प्रख्यात नदी भोल्गा नदीको किनारमा अवस्थित सिम्विस्र्क शहरमा भएको थियोे । आज संसार भरका कम्युनिस्ट क्रान्तिकारीहरुले लेनिनको १५२औं जन्म जयन्ती धुमधामका साथ मनाइरहेका छन् ।

यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले उनै लेनिनको स्मरण गरेको छ ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा आज जारी विज्ञप्तिमा लेनिनको स्मरण गरिनुका साथै विश्वका सर्वहारा जनताको लागि उनले सिकाएको विद्रोहको बाटोको अनुशरण गर्न अपील गरिएको छ । विज्ञप्तिमा केसीले लेनिनका विचारहरुको संरक्षण गर्ने, प्रचारप्रसार गर्ने र लेनिनप्रति सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लेनिनले पूँजीवादको मरनासन्न अवस्था साम्राज्यवाद हो र साम्राज्यवादी युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्गसंघर्षको युग हो भन्दै साम्राज्यवाद वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला हो भन्ने संश्लेषण गरेका थिए ।

जुन आज पनि विश्वका मानिसहरुले मानेका छन् । सन् १९१७ अक्टोबर २५ देखि नोभेम्बर ७ सम्म रुसमा त्यहाँको जारशाही सत्ताको विरुद्धमा लेनिनको अगुवाइमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।

संसारभर सामन्तहरुको शासनले रजगज मच्चाइरहेका बेला रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिले विश्वभर तहल्का मच्चायो । सो परिघटना एक युगान्तकारी परिघटना थियोे र अक्टोबर क्रान्ति माक्र्सवादको सफल प्रयोग थियोे ।

माक्र्सले द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद, सर्वहारावर्गको राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका रुपमा माक्र्सवादको सिद्धान्त प्रतिपादन गरेका थिए । लेनिनले रुसी धर्तीमा सफलतापूर्वक माक्र्सवादको प्रयोग गरे ।

यसक्रममा उनले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादका रुपमा विकसित तुल्याए । यसरी माक्र्सवादी ज्ञानभण्डारमा अतुलनीय योगदान गरेकोले लेनिन विश्वकै सर्वहारावर्गको नेताको रुपमा स्थापित भए ।

सोभियत रुसमा सम्पन्न अक्टोबर क्रान्तिको सफलताले सिंगो विश्वलाई प्रभावित तुल्याएको थियोे । त्यस ऐतिहासिक परिघटनाबाट प्रभावित भएर चीन, भारत, नेपाल लगायत विश्वका कैयन देशहरूमा कम्युनिस्ट पार्टी पार्टी स्थापना हुनुका साथै चीनमा पनि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रेरणा मिल्यो ।

यसैबीच आजकै दिनमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा लेनिन जयन्तीको सन्दर्भ पारेर कम्युनिस्ट पार्टीको स्थापना गरिएको हो ।

केसीको विज्ञप्तिमा कम्युनिस्ट पार्टी स्थापना दिवशपनि आजै परेकोले संसदीय कम्युनिस्टहरुको भ्रामा नपरी क्रान्तिकारी कम्युनिस्ट पार्टीप्रति विश्वास गर्न र एकतावद्ध हुन आग्रह पनि गरिएको छ ।

आजको युग साम्राज्यवाद र सर्वहारावर्गको भीषण वर्गसंघर्षको युग भएका कारणले पनि लेनिनका योगदानहरु ज्यादै महत्वपूर्ण र अमर छन् ।

विज्ञप्तिमा केसीले लेनिनका विचार र योगदानहरु रक्षा, प्रयोग र विकास गर्ने सवालमा नेपालका र संसारकै कम्युनिस्ट पार्टी, तीनका नेता-कार्यकर्ता र श्रमजीवी जनताले आफूलाई सधैं साम्राज्यवाद र घरेलु दलाल वर्गसित जुध्ने र आफ्नो अधिकार स्थापना गर्नेमा नयाँ बाटो पत्ता लगाउन जरुरी भएको बताएका छन् ।

प्रतिक्रिया