लेस्टरका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु

admin

लेस्टर, बेलायत, १२ कात्तिक (रासस/एएफपी) : बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर कारपार्कमा शनिबार दुर्घटनाग्रस्त भएको थियो ।

क्लबका अनुसार उक्त दुर्घटनामा अध्यक्ष विचाई सहित पाँचजनाको मृत्यु भएको छ ।

लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको पूmटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्नुहुन्थ्यो ।

लेस्टर क्लबको किङ पावर रङ्गशालाको कारपार्कमा ठूलो आवाजका साथ भुइँमा बज्रिएको हेलिकप्टर जलेको थियो । शनिबार १–१ गोलमा सकिएको लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल हेरेर फर्कनेक्रममा उक्त दुर्घटना भएको हो । प्रत्यक्षदर्शी फोटो पत्रकार रायन ब्राउनले उड्न लागेको हेलिकप्टर एकाएक ठूलो आवाजका साथ भुइँमा खसेको र आगो लागेको बताउनुभयो ।

क्लबले जारी गरेको विज्ञप्तिमा विश्वले एकजना असल मानिस गुमाएको जनाएको छ । वक्तव्यमा भनिएको छ, “उहाँको नेतृत्वमा लेस्टर सिटी एउटा परिवार जस्तो थियो । उहाँले क्लबलाई पारिवारिक वातावरण दिनु भएको थियो ।”

विचाईको निधनप्रति क्लबले दुःख प्रकट गर्नुका साथै फुटबल समर्थक, खेलाडी, व्यवस्थापकहरुले विचाईलाई श्रद्धाञ्जलि दिइरहेका छन् ।

प्रतिक्रिया