लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार, राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भएका छन् : देउवा

admin

काठमाडौं, १० असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भइरहेको आरोप लगाएका छन् । बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा सभापति देउवाले कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताएका हुन् ।

‘प्रतिनिधि सभाका बहुमत एक सय ४९ सदस्यहरूको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ’, देउवाले भने ।

संविधान सभाले निर्माण गरी जारी गरिएको नेपालको संविधान आज प्रधानमन्त्री ओलीको शासकीय अहङ्कार र स्वेच्छाचारी निर्णय र कामका कारण सङ्कटमा रहेको उनको आरोप छ । सभापति देउवाले भने, ‘असंवैधानिक रूपमा दुई-दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्ने काम प्रधानमन्त्रीबाट भएका छन् ।’

यस्तै देउवाले कोरोना महामारीबाट नागरिकलाई सुरक्षित तुल्याउनका लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरूमा दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएको बताएका छन् ।

‘निरङ्कुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौँ, सबै किसिमका षड्यन्त्र चिर्दै संविधान रक्षामा जुटौँ’ भन्ने आह्वान साथ राजनीतिक दलहरू, सञ्चारमाध्यम, विभिन्न पेसा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्य आज आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया