ल्याउँदैछ फेसबुकले आफ्नै क्रिप्टोकरेन्सी

admin

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नै डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको विकास गर्न लागेको छ । त्यस क्रिप्टोकरेन्सीलाई प्रयोगकर्ताले ह्वाट्सएप मार्फत पनि पठाउने सक्नेछन् । फेसबुकले एउटा यस्तो ‘स्थीर मुद्रा’ बनाउँदैछ जसलाई प्रयोगकर्ताले फेसबुकको मोबाइल मेसेजिंग सर्भिस मार्फत पैसा पठाउने प्रयोजनमा प्रयोग गर्न सक्नेछन् ।

ब्लुम्बर्गका अनुसार उक्त स्टेबल क्वाइन एक प्रकारको डिजिटल करेन्सी हुनेछ र त्यसको मूल्य अमेरिकी डलर बराबर हुनेछ । फेसबुकको उक्त मुद्रा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी जस्तो अस्थीर नहुने भएकोले पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । ब्लुम्बर्गका अनुसार फेसबुकले भारतमा आफ्नो डिजिटल करेन्सी लञ्च गर्ने सम्भावना छ । भारत विश्वमा सबैभन्दा धेरै रेमिटेन्स भित्राउने मध्येको देश हो जहाँ विदेशमा रहेका करोडौँ भारतीयहरुले भारतका आफ्ना परिवार र आफन्तलाई ठूलो परिमाणमा पैसा पठाउँदछन् ।

फेसबुकलाई आफ्नो डिजिटल मुद्रा वास्तविक रुपमा लञ्च गर्नका लागि केही समय भने लाग्नेछ । फेसबुक प्रवक्ताका अनुसार अहिले कम्पनीले यसको रणनीति बनाइरहेको छ र ब्लकचेन टेक्नोलोजीको क्षमताबाट बढि भन्दा बढि लाभ कसरी उठाउन सकिन्छ भन्ने कुराको खोजी गरिरहेको छ ।स्मरण रहोस् पेपल कम्पनीका पूर्वअध्यक्ष डेभिड मार्कसलाई फेसबुकमा भित्राएसँगै फेसबुकले कुनै खाले वित्तिय सेवाको विकासमा काम सुरु गरेको अड्कल धेरैले काटेका थिए ।

मार्कस नेतृत्वको टिमले फेसबुकमा ब्लकचेन टेक्नोलोजीका उपयोगितामा गहन अन्वेषण गरिरहेको छ । ब्लुम्बर्गका अनुसार सन् २०१७ मा भारतमा ६९ अर्ब डलर रेमिटेन्स भित्रिएको थियो । भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । यस्तो अवस्थामा फेसबुकले क्रिप्टो करेन्सीलाई पहिलोपटक भारतमै सुरु गर्ने योजना बनाएको बताइएको छ ।

के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टो करेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाइन मार्फत रकम भुक्तानी वा ट्रान्सफर गर्दा प्रयोग गरिन्छ ।यो वास्तवमा पैसाको अनलाइन संस्करण वा भर्चुअल मुद्रा हो भन्दा फरक पर्दैन । यस्तो खालको डिजिटल सम्पत्ति जसलाई एक जनाबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिन्छ ।

सबैखाले क्रिप्टो करेन्सीले ब्लकचेन प्रविधिको प्रयोग गर्दछन् । विशिष्ट खालका नियमहरुको आधारमा यस्ता मुद्राको सिर्जना तथा प्रसार हुन्छ । हरेक क्रिप्टो करेन्सीका लागि छुट्टै नियम हुन्छ ।

बिट क्वाइन सबैभन्दा पहिलो क्रिप्टो करेन्सी हो, जुन ८ वर्षअघि अस्तित्वमा आएको थियो । लाइट क्वाइन र डोजक्वाइन लगायतका विभिन्न खाले डिजिटल करेन्सीहरु अहिले प्रचलनमा रहेका छन् । एक तथ्यांक अनुसार अहिले विश्वमा हरेक दिन क्रिप्टो करेन्सी मार्फत २ लाख ७० हजार पटक रकम लेनदेन हुन्छ ।

प्रतिक्रिया