ल्याण्डिङ गियर विराटनगरमै खुले पनि सुरक्षाका लागि जहाज काठमाडौं ल्याइएको हो : बुद्ध एअर

admin

काठमाडौं, ११ असोज : बुद्ध एअरले विराटनगरमै जहाजको ल्याण्डिङ गियर खुले पनि सुरक्षाका लागि काठमाडौंमा ल्याएर अवतरण गर्नुपरेको जनाएको छ । जहाज सकुशल अवतरण भएपछि पाइलट, यात्रु, बुद्ध एअरका कर्मचारीलगायत सबैले खुसी व्यक्त गरेका छन् ।

ल्याण्डिङ गियरमा समस्या हुँदा विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज सोमबार बिहान काठमाडौं फर्काएर दुई घण्टा आकाशमा होल्डिङ गरेपछि सुरक्षित अवतरण भएको थियो । काठमाडौंको आकाशमा जहाज आइसकेपछि क्याप्टेनले बुद्ध एअरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर जाँच गर्दा सही र झरेको अवस्थामा पाइएपछि सुरक्षित साथ जहाजलाई नर्मल अवतरण गराइएको बुद्ध एअरले जनाएको छ ।

जहाजलाई सुरक्षित अवतरण गराउन विमानस्थलमा दमकल, एम्बुलेन्स, उद्धारकर्ताको उपस्थितिलगायत विभिन्न तयारी गरिएको थियो । जहाजको ल्याण्डिङ गियर नखुलेको अवस्थामा आकाशमै घुमाएर इन्धन सक्ने र धावनमार्गमा फम बिच्छाएर अवतरणको तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यस्तै विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । एनआई कलसाइनको उडान नम्बर-७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको थियो ।

इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिए पनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो । सोमबार फर्किएका २३ जना यात्रु बुधवार विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बचेका कतिपय यात्रु डरका कारण दोस्रो उडानमा नगएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सो विमानमा सवार ७३ जना मध्ये ४९ जना यात्रुलाई बुद्ध एयरको कलसाइन ‘नोभेम्बर डेल्टा’विमान मार्फत सोमबार नै बिराटनगर पठाइएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । विराटनगरमा जानेमा दुईजना नाबालक छन् ।

प्रतिक्रिया