वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी

रिता घिसिंग

चितवन, १६ जेठ (रासस) : गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन् । मैनालीले कारागार नियमावलीमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिन बन्देज लगाइएकाले रोकिएको बताउनुभयो ।

सबैभन्दा बढी चितवन कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ३९ कैदीको आममाफीका लागि सिफारिस गरिएको थियो । उनीहरु अधिकांश गैँडा तस्करीमा संलग्न भएको अभियोगमा थुनामा छन् । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भरतपुरमा मात्र वन्यजन्तुका ९६ कैदीबन्दी छन् । वन्यजन्तुसँग सम्बन्धित तीन वृद्धसहित ३९ को सिफारिस गरिएकामा तिनीहरुको आममाफी नभएको उहाँले बताउनुभयो । विसं २०६२ सम्म वन्यजन्तुसँग सम्बन्धित कैदीले आममाफी पाउने गरेको भए पनि त्यसयता नपाएको काफ्लेले जानकारी दिनुभयो ।

कूल सिफारिस भएका ५७ मध्ये हातहतियार, डाँका र सवारी ज्यानका १५ ले मात्र आममाफी पाएका छन् । गणतन्त्र दिवसका अवसरमा देशभरका कारागारबाट ४३४ लाई आममाफी दिइएको छ । आधा कैद भुक्तान गरी असल चालचलन भएकालाई विशेष अवसर पारेर आममाफी दिने प्रचलन छ । सबै मुद्दाका कैदीबन्दीले आममाफी नपाउने व्यवस्था छ ।

प्रतिक्रिया