वरिष्ठ साहित्यकार डा. बानिरा गिरीको निधन

admin

काठमाडौं, १० जेठ : नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ । उनको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिएका हुन् ।

लामो समयदेखि मधुमेहको समस्या भोगेकी गिरी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पीडित थिइन् । उनको काठमाडौं नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रसाईँले जानकारी दिए ।

गिरीलाई कोरोना भाइरसको संक्रमण पनि भएको थियो । २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा जन्मिएकी डा. गिरी छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न काठमाडौं आएकी थिइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध थिइन् ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक भएपछि उनले २०४२ सालमा पीएचडी गरेकी थिइन् । डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । गिरीका श्रीमान, एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया