वामदेवको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेशी शुक्रबार

admin

काठमाडौं, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी, नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ।

संवैधानिक इजलासमा यो रिटमाथि आजदेखि दुवै पक्षको बहस चलिरहेको छ। आज बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।

‘आज बहस नसकिएपछि उक्त रिटको सुनुवाइ हेर्दाहेर्दैमा गएको छ,’ उनले भने, ‘शुक्रबारलाई सरेको छ।’ प्रधानन्यायाधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन बस्छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी वामदेवलाई थप जिम्मेवारी नदिन आदेश दिएको हो। आजदेखि संवैधानिक इजलासमा वामदेवको नियुक्तिबारे सरकार र रिट निवेदकका वकिलहरूको बहस सुरू भएको हो।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तासहित केही वकिल र सरकारका तर्फबाट महान्यायाधीवक्ता अग्नी खरेल र सह- महान्यायाधिवक्ता श्याम भट्टराईले बहस गरेका थिए।

प्रतिक्रिया