विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन : मन्त्री ज्वाला

राष्ट्रिय समाचार समिति

वीरेन्द्रनगर, २९ फागुन: आथिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकासको गतिमा ‘ब्रेक थ्रु’ गर्न नसकिएको बताउनुभएको छ ।  आर्थिक पत्रकार महासङ्घले आज वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन कार्यक्रमको उद्घाटन सत्रमा उहाँले भन्नुभयो, “कर्णालीको भौगोलिक बनोट तथा विविध कारणले गर्दा सोचेअनुरुपको विकास गर्न नसकिएको हो । ”

मन्त्री ज्वालाले भन्नुभयो, “पुरानै सोचाइ कायम हुँदा सोचेअनुरुप विकास हुन सकेन । जसले गर्दा विकास बजेट उत्साहजनक खर्च हुन सकेन । कतिपय अवस्थामा काम भएता पनि प्रगति देखाउन सकिएको छैन ।”

उहाँले कर्णाली प्रदेश राजश्व सङ्कलनमा सुधार हुँँदै गइरहेको उल्लेख गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर जडीबुटीमा लगानी गर्न सके राजश्वको परिमाण अझ बढाउन सक्ने बताउनुभयो । “स्रोत साधन, सम्पदा, खनिज र जलस्रोतले कर्णाली प्रदेश सम्पन्न भए पनि यसको दिगो उपयोग हुन सकेको छैन्, उहाँले भन्नुभयो, “यहाँको स्रोत साधनको दिगो उपयोग गर्न सक्यौं भने यो प्रदेश छिट्टै नै आर्थिक रुपले समृद्ध र सबल हुनेछ ।”

नेपाल आर्थिक पत्रकार महासङ्घका अध्यक्ष भीम गौतमले राज्यका हरेक ठाउँमा सही तरिकाले बजेट उपयोग गर्नुपर्ने भन्दै यसका लागि पत्रकारले खोजमूलक समाचारका माध्यमबाट झक्झक्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया