विकिलिक्सका प्रधान सम्पादकमा ह्राफसोन नियुक्त

सन्दीप खत्री

लन्डन, ११ असोज  :  अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त हुनुभएको छ । विकिलिक्सको प्रवक्ता रहिसक्नुभएका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने स्पष्ट भएको छैन ।

विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेट मार्फत सार्वजनिक गरी विश्वचर्चित हुनुभएका विकिलिक्सका ४७ वर्षीय संस्थापक जुलियन असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासमा केही वर्षदेखि शरण लिएर बसिरहनु भएको छ ।

विकिलिक्सले असान्ज नै समूहको प्रकाशक हुने जनाएको छ । इक्वेडरमा नयाँ राष्ट्रपति चुनिएलगत्तै असान्जको सञ्चार सम्पर्क मार्चदेखि विच्छेद गरिएको छ । विकिलिक्सको बुधबारको वक्तव्यमा असान्जले आफू सञ्चार सम्पर्कविहीन भएको बताउनुभएको छ ।

असान्जले यसअघि समूहको प्रवक्ता, प्रकाशक र सम्पादक स्वयँ आफू रहेको बताउँदै आउनुभएको थियो । ह्राफसोनले आफूमाथि आएको नयाँ जिम्मेवारी स्थायी वा अस्थायी के हो भन्ने अझै थाहा हुन नसकेको प्रतिक्रिया दिनुभयो ।(रासस/एपी)

प्रतिक्रिया