विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू अब १० दिन क्वरेण्टीनमा बस्ने गरी सिधै घर जान पाउने

admin

काठमाडौं, १४ असार : विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ । सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई प्रतिवेदन बुझाउन पर्नेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको हो ।

यस्तै आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने पालिका वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोट आएमा सिधै गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ । घरमा बसेको ११ औँ दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ ।

यसैगरी अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा २ जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने भएको छ । नयाँ प्रावधान अनुसार, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् । तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।

त्यस्तै यसअघि खोप लगाएर आएका यात्रुलाई पनि १० दिन अनिवार्य गरिएको होटल क्वरेण्टीन व्यवस्था हटेको छ । अब खोप नलगाई नेपाल आउने यात्रुले पनि ७ दिन मात्र होटेल क्वरेण्टीन बसे पुग्ने व्यवस्था नयाँ प्रावधानमा गरिएको छ । पीसीआर रिपोर्ट र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् ।

होटेल क्वरेण्टीनमा बसेको ७ औँ दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सिधै घर जान पाइने छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरू नेपाल आइसकेपछि भने सरकारले क्वरेण्टीन भनी तोकेका होटलमा बस्नु पर्नेछ । यसअघि सबै यात्रुले होटेल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।

डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका र बेखर्ची भएका नेपालीहरूको सम्बन्धमा सम्बन्धित कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले तोकेको क्वरेण्टीनमा राखिने र त्यस्ता व्यक्तिको क्वरेण्टीन बस्दा, कोरोना परीक्षण गर्दा र घरसम्म जाँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।

प्रतिक्रिया