विदेशमा कोरोनाका कारण थप ३ जना नेपालीको ज्यान गयो

admin

काठमाडौं, १८ माघ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा ३ जनाको संक्रमणका कारण ज्यान गएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले कोरोना भाइरस विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । अहिलेसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ ।

प्रतिक्रिया