विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न

admin

काठमाडौं, २१ मंसिर: त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।

त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् ।

उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’ शिक्षामन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयलाई तत्काल समस्या समाधान गर्न भन्दै निर्देशन दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा कोर्सभन्दा बाहिरको प्रश्न सोधेपछि ३५ जना विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । सो पत्रको बोधार्थ शिक्षा मन्त्रालयलाई समेत पठाइएको छ । परीक्षामा ४७ जना विद्यार्थी मात्र सहभागी भएपछि परीक्षा स्थगित गर्न माग गरिएको थियो । स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको प्रश्नमा कुल ४५ पूर्णाङ्कमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः सञ्चालन गरिएपछि विवाद बनेको हो ।

पाठ्यक्रम बाहिरको प्रश्न रहेको र प्रश्नपत्र एकपटक बाहिर ल्याएर पुनः सोही प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिनु ‘गैरकानुनी’ रहेको विद्यार्थीको दाबी छ । सो विषयमा रायसुझाव पेस गर्न बनेको समितिलाई भने त्रिविले आलटार गरेर कोर्सबाट नै प्रश्न सोधिएको जवाफ दिएको थियो । २९ पुस २०७५ मा स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको पुरानो पाठ्यक्रमको परीक्षा लिइएको थियो । परीक्षाफल ११ वैशाख २०७६ मा प्रकाशित गरिसकिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया