स्वास्थ्य मन्त्रालयद्वारा विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस

admin

काठमाडौं, २७ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कारोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ । पछिल्लो समय पुनः स्कुले बालबालिकामा कोरोनाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै पठनपाठन गराउन समेत सिफारिस गरेको छ ।

बालबालिकालाई संक्रमण हुने क्रम बढेपछि सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो । नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकालाई संक्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा संक्रमणदर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बरभन्दा बढीले बढेर १६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

बिहीबार देशभरि तीन सय ३२ जनामा संक्रमण भएको थियो । यसमा १८ वर्षभन्दा मुनिका ५१ जना छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया