विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई

admin

काठमाडौं, ३ बैशाख : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकपछि मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालयहरूमा सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएर विद्यालय बन्द गर्न विज्ञहरूले सुझाव दिइरहेका बेला शिक्षा मन्त्रालयले भने विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति निकालेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भए पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पालिका र जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गर्न आग्रह गरेको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानीलगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । बैठकपछि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेशअनुसार भौतिक रूपमा अथवा वैकल्पिक रूपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।

उनले भने, ‘कोभिड संक्रमणको फेरि बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरिसकेपछि हाम्रो यसमा गम्भीर ध्यानाकर्षण भएको छ । यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्न सक्ने विभिन्न असरको बारेमा विभिन्न कोणबाट छलफल गरेका छौँ । अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्री परिषद्ले गर्छ, त्यस्तो अवस्थामा पनि शिक्षण सिकाइलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डीसीसीएमसी छ, उहाँहरूको निर्णय र स्थानीय परिवेशअनुसार भौतिक अथवा वैकल्पिक दुवै विधिलाई जारी राख्न सक्ने हामीले निर्णय गरेका छौँ । ’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा-२०७७’ अनुरूपको सिकाइका विभिन्न विधि अवलम्बन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । सम्बन्धित पालिका तथा विद्यालयले वैकल्पिक सिकाइ ढाँचाको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताए ।

सचिव थपलियाले भने, ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा-२०७७’ छ, त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाका बारेमा उल्लेख छ । त्यसको अवलम्बन गरेर, प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’

प्रतिक्रिया