विद्युत प्राधिकरणलाई मन्त्री पुनको निर्देशन- दसैंका बेला कतै बत्ती ननिभोस्

admin

काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।

‘दसैंका बेला कहीँ पनि विद्युत काटिने समस्या नआओस्’, मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन।’ प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो। मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे।

मन्त्री पुनले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि सरकारले गत चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भार प्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेसन वा क्वारेन्टिनमा राखेर काम गराउने निर्णय गरिएको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गरे।

महामारीका कारण ९० लाख विद्यार्थी घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत सेवा अनियमित हुँदा उनीहरूको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त मात्रामा विद्युत उपलब्ध रहेको जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले कोरोना महामारीका कारण उद्योगहरू पूर्ण क्षमतामा नचलेका कारण विद्युत मागको चाप गत वर्षको यही समयको तुलनामा कम रहेको जानकारी दिए।

प्रतिक्रिया