विपक्षीको विरोधको अर्थ छैन : नेता रायमाझी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २१ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकारले तीव्रगतिमा परिणाम आउने गरी काम गरिरहेकाले विपक्षीको विरोध अर्थ नभएको बताउनुभएको छ ।

नेता रायमाझीले भन्नुभयो, “राष्ट्रियता, सुशासन, विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ, म दोहो¥याएर भन्न चाहन्छु, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरोध र आलोचना गरेका विषयमा सत्यता छैन ।”

नेता रायमाझीले सरकार पछिल्लो समय भ्रष्टाचार निर्मूलीकरणका लागि कठोररूपमा अघि बढिरहेको भन्दै राष्ट्रियताको विषयमा पनि आफ्नो अडानमा रहेको प्रष्ट पार्नुभयो । रिपोटर्स क्वलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय अहिले उजागर भएको छ, हाम्रा सीमास्तम्भहरु अतिक्रमित भएका छन्, सरकारले अब यो विषयलाई समाधानका लागि पहल गरिरहेको छ ।”

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकमा बलात्कार, हत्या, हिंसा, असुरक्षा र दण्डहीनताका कारण जनतामा निराशा बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अर्काे प्रसङ्गमा उहाँले काँग्रेस पार्टीलाई व्यक्तिमुखीभन्दा संस्थामुखी बनाउन नेतृत्वसँग आग्रह गर्नुभयो ।

नेता केसीले पार्टीको १४औँ महाधिवेशन तोकिएकै अवधिमा हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण रूपबाट महाधिवेशनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले महङ्गी, भ्रष्टाचार, सुुशासनको कुरा भन्दा पनि राष्ट्रियता मुख्य भएकाले त्यसतर्फ केन्द्रित हुन आह्वान गर्नुभयो ।

प्रतिक्रिया