‘विप्लव’का जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

राष्ट्रिय समाचार समिति

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका मोरङ इन्चार्ज र सेक्रेटरी शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला इन्चार्ज मोरङको सुन्दरहरैंचा नगरपालिका-१० घर भएका ५१ वर्षीय नरेश चौलागाई र सेक्रेटरी विराटनगर महानगरपालिका–८ का ४१ वर्षीय क्षितिज पौडेल रहेका छन्।

‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत बनेका दुवै जनालाई बेलबारी नगरपालिकाको कसेनीबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। एकै ठाउँबाट पक्राउ परेका चौलागाई र पौडेललाई आवश्यक अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय हरैंचामा राखिएको छ।

एसपी अधिकारीका अनुसार बम विष्फोट, चन्दा आतंकलगायत ‘विप्लव’ समूहका नाममा यस अघि भएका विभिन्न खाले अराजक र विध्वंसात्मक तथा अपराधिक गतिविधिमा दुवै जनाको संलग्नता रहेको पाइएको छ।

‘दुवै जनामाथि गहन ढंगले अनुसन्धान अघि बढाइएको छ,’ उनले भने, ‘मोरङसहित बाहिरी विभिन्न जिल्लामा गराइएका बम विष्फोटलगायतका पुराना घटनामा संलग्नता रहेको पाइयो।’ उनले पक्राउ परेका बसोबास गर्ने स्थानमा ‘सर्च’ बाँकी नै रहेको जानकारी दिए। ‘उनीहरुको साथबाट तत्काल केही पनि फेला परेन,’ एसपी अधिकारीले भने।

प्रतिक्रिया