विप्लवद्वारा प्रहरीविरुद्ध पक्राउ पुर्जी, जुनसुकै बेला ‘इन्काउन्टर’ गर्न चेतावनी

admin

धनगढी, १८ साउन : प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाकाले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र विप्लव बीचको तनाव बढ्ने आशंका गरिएको छ।

साउन १७ गते अर्थात् शुक्रबार जारी गरिएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ। कैलाली जनअदालत प्रमुख विकासको नामबाट उक्त पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको छ।

कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। पक्राउ पुजीमा जुनसुकै बेला पनि ’इन्काउन्टर’ गर्न आदेश जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विप्लवका २ कार्यकर्ता पक्राउ
कैलालीमा प्रहरीले विप्लव समूहका २ कार्यकर्तालाई पक्राउ गरेको छ। कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्द बहादुर बमलाई प्रहरीले पक्राउ गरेको हो। बमलाई शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ। त्यस्तै प्रहरीले शनिबार दिउँसो टिकापुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ गरेको छ। जानकी गाउँपालिकाका ईन्चार्ज राम विकलाई पक्राउ गरेको प्रहरीले स्रोतले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया