विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब

admin

काठमाडौं , फागुन २५ : केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्व माओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ,’

भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दोष दिएको छ,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया