विप्लव गएपनि सिप्लव जन्मन्छ– डा. केसी [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १ साउन : राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले विप्लवले अहिले उठाएको एजेण्डा छाडेर राजनीतिक मूलधारमा आएपनि सिप्लव जन्मने ठोकुवा गरेका छन् । देशको मूल समस्या समाधान नभएसम्म विद्रोही समूह जन्मिइरहने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

हेर्नुहोस भिडियो :

 

रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै माओवादीले छोडेका एजेण्डा अहिले विप्लवले बोकेको सुनाए । उनले भने,‘यदि विप्लवले पनि यो एजेण्डा छोड्यो भने सिप्लव जन्मिन्छ ।’
मुलुक एकपछि अर्कोगरि बेथितीको चंगुलमा फसेको पनि उनले टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्ष प्रत्येक नेपालीको काँधमा ३३ हजार ऋण थियो । अहिले त्यो बढेर ३६ हजार भएको छ ।’ नेपालमा राजदुत हुन ज्वाँई हुनुपर्ने र मन्त्री बन्न सम्धी हुनुपर्ने भन्दै केसीले नेताहरुमाथि कडा व्यंग्य कसे ।

सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् । उनले भने,‘विप्लवसँग वार्ता हुनुपर्छ भनेर हामीले आजभन्दा करिब दुई महिना अघि प्रधानमन्त्रीलाई भेटेका थियौं । यसको लागि सुन्दरमणि दिक्षितले पहलकदमी लिनुभएको थियो ।’ तर, पछिल्लो समय वार्ताले औपचारिकता पाएको हल्ला चलाईएको भनेर स्वयम विप्लव समूहले गरेको पनि उनले सुनाए ।

उनले भने,‘अहिलेको समाचार हेर्दा वार्ता नभएको कुरा आएको छ । यो त प्रतिक्रियावादीहरुले चलाएको हल्ला हो भनेर उनीहरुले भन्न थालेका छन् । कुनै वार्ता भएको छैन भनेर विप्लव समूहले भनेको छ ।’ उनले आफूले चन्द समूहको कुरा गर्दा आफूलाई नै गोली ठोक्ने हुन कि भन्दै ठट्टा गरे । उनले भने,‘म विप्लवसँग टच छैन् ।’

सरकार र विप्लवबीच वार्ताको लागि तपाईले नै पहलकदमी लिनुहोस न त भनेर पत्रकार धमलाले गरेको आग्रमा केसीले भने,‘मेरो त पावर छैन् । म त निरीह मान्छे हुँ । वार्ताको लागि मध्यस्थता गर्नको लागि विश्वसयिनता हुनुपर्छ । अहिले त नागरिक समाजमा पनि बौद्धिकता स्खलित भएको छ । पार्टीको कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न सक्दैनन्।’ उनले देश सकिएपछिमात्रै नेपालका नेताहरुको आँखा खुल्ने सुनाए । उनले भने,‘एक घुड्को पानी पिउनपनि ऋषि धमलाको आउनुपर्छ । अहिले मेलम्चीको पानी धुस्न बाटोमा छ ।’

उनले अहिले देशमा भएका सबैखाले समस्या सिर्जित समस्या भएको पनि टिप्पणी गरे । अहिले त गणतन्त्र नभएर लुटतन्त्र आएको उनको आरोप छ । पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लवबीच साँठगाँठ छ त भनेर सोधिएको प्रश्नमा केसीले भने,‘त्यो त मलाई थाहा छैन । तर, अहिले म एउटा कार्यक्रमबाट आएको हुँ, त्यहाँ ५० प्रतिशत विप्लवका मान्छे थिए । अनि, अर्को ५० प्रतिशत ज्ञानेन्द्रका मान्छे थिए । त्यसैले यसबारेमा कन्फ्युजन छ ।’

कतिपय कांग्रेस नेताले समेत अहिलेको राजनीतिक अवस्था देखेर यो भन्दा त राजसंस्था नै ठिक थियो भनेर अभिव्यक्ति दिन थालेको सार्वजनिक रुपमै सुन्न पाएको पनि केसीले सुनाए । उनले भने,‘बाबुरामजीले पनि हिजो राजासँग साँठगाँठ थियो भनेर बोलेकै हो ।’ केसीले नेपालमा सबैभन्दा ठूलो राष्ट्रघात मेलम्चीमा भएको पनि सुनाए । उनले भने,‘अहिलेसम्म २३ अर्ब खर्च भैसक्यो ।’

आयोजनाको मुख्य ठेकेदार सिएमसीलाई योजनाबद्ध रुपमै भगाएको पनि उनको गम्भिर आरोप छ । उनले भने,‘एक अर्वको सामान कुहिएर गयो । पाईपहरु जुन बिछ्याईएको छ, यसमा समयमै पानी नल्याए सढेर जान्छ ।’ उनले ३६ करोडको भुक्तानी गरेको भए काठमाडौंवासीले पानी खान पाउने थिएन भन्ने उनको धारणा छ ।

केसीले समयमै सरकार र राजनीतिक दलहरु नसुध्रिए मुलुक र जनताको लागि अब नराम्रो दिन आउनसक्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘समय अब संगित र अन्तिम भैसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू