विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी

रिता घिसिंग

ढाका, बङ्गलादेश, १३ फागुन : बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । 

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । 

 

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ । 

 

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए । 

 

उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ ।” तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन । विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन । 

 

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्णरूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ । “अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आइएसपिआरका अधिकारीले बताए । विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिईएको बताइएको छ । (रासस÷सिन्ह्वा)

 

 

प्रतिक्रिया