विराटनगरलाई स्थायी राजधानी हुनुपर्छ : महानगर

शर्मिला गुरुङ

विराटनगर, २१ वैशाख : विराटनगर महानगरपालिकाले प्रदेश नं १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने निर्णय गरेको छ । महानगरपालिको आज यहाँ बसेको बोर्ड बैठकले नेपालको राजनीतिक, ऐतिहासिक, औद्योगिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शहर विराटनगरलाई स्थायी राजधानी बनाउनुुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशस्तरीय बैठकले प्रदेश नं १ को राजधानी बृहत् विराट क्षेत्रभित्र निर्माण गर्न संसद्मा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको यहाँ आज आयोजित सर्वपक्षीय छलफल कार्यक्रमा जनाएको छ ।

बैठकले प्रदेशको राजधानी विराटनगर बाहिर लगेमा महानगरपालिकाको नेतृत्वमा आन्दोलन गरिने बताइयो । बैठकलले राजधानी विक्रेन्द्रीकरण गर्ने र दीर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै बृहत् छलफल र भेला गर्ने निर्णय गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुुलीले विकेन्द्रीकरणको नाममा “विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ‘र’ ऐतिहासिक महत्व बोकेको विराटनगरको विकल्प खोज्नु हँुदैन”, भन्नुभयो । उहाँले स्थायी राजधानीका लागि महानगरले जग्गा भवनलगायत सबै प्रकारको व्यवस्था मिलाइसकेको र त्यसका लागि ठूलो धनराशि खर्च भइसकेकाले राजधानी विराटनगरमा कायम गर्न प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो । उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई निःर्शत स्थायी राजधानी बनाउनुुपर्नेमा जोड दिनुभयो ।

बोर्ड बैठकमा महानगरपालिकाका–१९ वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यको सहभागिता रहेको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले बताउनुभयो । रासस

प्रतिक्रिया