विश्वको बढ्दो तापक्रमको असर बियरमा, मूल्य उच्च हुने अध्ययनको दाबी

मनिषा थापा

एजेन्सी  :  विश्वमा बढिरहेको तापक्रमको असर बियरमा समेत पर्ने एक अध्ययनले देखाएको छ । बढिरहेको तापक्रमको कारण जौ उत्पादनमा कमी आउने र सोही कारण जौबाट बन्ने बियरको मूल्य दोब्बर हुने उल्लेख गरिएको छ ।

वैज्ञानिकहरुका अनुसार ग्लोबल वार्मिंगकै कारण विश्वमा जौ उत्पादनमा १७ प्रतिशतसम्म कमी आउनेछ जसकारण बियरको मूल्य बढनेछ। आयरल्याण्डजस्तो रक्सी उत्पादक देशमा अहिले पनि रक्सीको मूल्य उच्च रहेकोमा ग्लोबल वार्मिंगकै कारण अब त्यसमा दुई, तीन गुणा वृद्धि हुने अनुमान गरिएको छ। अहिलेसम्म विश्वमा तापमानमा असर गरिरहेको ग्लोबल वार्मिंगले अब भने हाम्रो खानपानमा समेत असर गर्ने देखिएको छ।

खासमा ग्लोबल वार्मिंगले हाम्रो दैनिक जीवनलाई कसरी प्रभावित पार्ला भनेर अध्ययनमा खोजी गरिएको थियो । यसअघि पनि संयुक्त राष्ट्रले पनि आफ्नो रिपोर्टमा जलवायु परिवर्तनका खतराबारे उल्लेख गरेको थियो ।

उक्त रिपोर्टअनुसार जलवायु परिवर्तनको कारण पानी, खानाको पनि ठूलो कमी हुनेछ । त्यस्तै तातो छाल, समुद्री जलस्तर र बिमारीहरुको संख्या समेत बढ्ने अनुमान गरिएको छ ।

विश्वमा जौको प्रयोग आफ्नो किसिमले हुने गरेको छ । विश्वमा कुल उत्पादनको २० प्रतिशत जौ बियर उत्पादनमा प्रयोग गरिने गरेको छ । अमेरिका, ब्राजिल र चीनमा बियर बनाउन यसको धेरै प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू