विषालु च्याउविरुद्ध अभियान

राष्ट्रिय समाचार समिति

रामपुर, १९ साउन: जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा जङ्गली च्याउ नखाउँ, सुरक्षित बनौँ भन्ने उद्देश्यले अभियान चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै जान सक्छ भन्ने चेतना अझै पनि गाउँमा नभएर थुप्रै नागरिकको अकालमा ज्यान जाने गरेकाले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आफू मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले रामपुर नगरपालिकाको बेझाडमा इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका–२ देउरालीमा प्रहरी चौकी हार्थोक, वडा नं ५ मुझुङ्मा इलाका प्रहरी कार्यालय मुझुङ्, रम्भा गाउँपालिका–३ को पीपलडाँडामा प्रहरी चौकी राम्दी, निस्दी–३ झिरुवासमा रुप्सेभन्ज्याङ् प्रहरी चौकी, माथागढी गाउँपालिका– १ अघाहा खोलामा आर्यभन्ज्याङ प्रहरी चौकीले विषालु जङ्गली च्याउ नखान सचेत गराएको हो ।

प्रहरीले स्थानीय समाजसेवि, उद्योगी–व्यापारी, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकलाई जङ्गली च्याउको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असर, मौसम परिवर्तनसँगै आउने प्राकृतिक विपत्ति, लागुऔषध दुव्र्यसन, महिला हिंसा, घरेलु हिंसा, चेलीबेटी बेचबिखन, मदिरा नियन्त्रणलगायतका विविध विषयमा सचेतनामूलक कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षत्रीले बताउनुभयो ।

यस्ता कार्यक्रमले च्याउ खाएर बिरामी पर्ने तथा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने र समाजमा हुने विविध किसिमका आपराधिक घटना कम भएर सभ्य समाजको निर्माणमा सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक सापकोटाको भनाइ छ । च्याउ खाएर यस वर्ष निस्दी गाउँपालिका–३ मा छ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया