विस्मयकारी मृत्यु, यौन व्यभिचार तथा अन्य ६ कारण जसले गेम अफ थ्रोन्स लोकप्रिय भयो

रिता घिसिंग

बीबीसी : लेखक जर्ज आर आर मार्टिनका किताबमा आधारित एउटा काल्पनिक टीभी सिरिज गेम अफ थ्रोन्सले दर्शक सङ्ख्यामा एकपछि अर्को कीर्तिमान तोडिरहेको छ।

यसको पछिल्लो सिजनको पहिलो शृङ्खलाले अमेरिकी टिभी नेटवर्क एचबीओलाई सबभन्दा धेरै दर्शक आकर्षित गरेको कीर्तिमान मिल्यो। अनि त्यो कीर्तिमान उक्त सिरिजको तेस्रो शृङ्खलाले भङ्ग गरिदियो। इन्द्रजाल र तरबारबाजी हुने यो सिरिजको सफलताको सूत्र के हो तरु

यसमा प्रशस्त द्वन्द्व छ, नाटक छन्, रहस्य छन् अनि यसमा घातक अप्राकृतिक जीव छन् र व्यभिचारका कथा छन् ।।। अझ ड्र्यागनको त कुरै नगरौँ।
सिजन ५ मा धेरैले रुचाएको पात्र जन स्नोहलाई उनकै सेनाले घात गरेको देखाइँदा धेरै मानिस चकित भए।

१ विस्मयकारी मृत्यु
यसमा धेरै हताहती छन्। सम्झनुहोस् सुरुका ती केही सिजनहरू जसमा ‘असल पात्रहरू’ लाई अचानक विभत्स ढङ्गले मारिन्थ्यो। अधिकांश मृत्यु अनपेक्षित थिए। पहिलो सिजनमै मूल पात्र एड्डार्ड स्टार्कको विभत्स मृत्युसँगै त्यो सिलसिला चल्यो।

अत्यधिक हिंसा तथा रक्तपात अनि त्यसको साथमा पात्रहरूको अनपेक्षित मृत्यु र त्यसको निरन्तरताले दर्शकलाई छक्क पारिरह्यो। यसले एउटा रहस्य बनाइराख्यो कि कोही पनि सुरक्षित छैन। अनि मानिसहरूको रुचि अब के होला भनेर भावनात्मक रूपमै बनिरह्यो। सिरिजमा जन स्नोह तथा डेनेरिस टार्ग्यारियन आफूहरू नातेदार भएको थाहा नपाइकनै प्रेम सम्बन्धमा गाँसिन्छन्।

२ गोप्य कुराका चाङ
पहिलो शृङ्खलादेखि नै कथाका विविध आयाम तथा निरन्तर आइरहने अनौठा मोडहरूले दर्शकहरू मोहित बनिरहे। प्रशंसकहरू आफैँ पनि अब यसो होला र उसो होला भनेर छलफल गरिरहन्छन्। आफ्ना अनुमान अरूसँग बाँडिरहन्छन्।

गट (जीओट– गेम अफ थ्रोन्स) भनेर चिनिने यो सिरिजले मानिसहरूले अन डिमान्ड भनिने यस्ता टेलिभिजन कार्यक्रम कसरी हेर्छन् भन्ने बारे एक सांस्कृतिक परिवर्तन नै लेराइदियो।

अन्तिम भनिएको यो आठौँ सिजनलाई बिदाइ गर्न प्रशंसकहरूले विशेष प्रकारका जमघट आयोजना गरे जसमा उनीहरू सँगै बसेर सिरिज हेर्दै त्यसका रहस्य, दाउपेच तथा पृष्ठभूमि छलफल गर्छन्।

अनि जब उनीहरूले अब के होला भनेर गरेको अनुमान विफल हुन्छ तब उनीहरू सिरिज नछुटाइ हेर्न थप लालायित हुन्छन्। लेखक जर्ज आरआर मार्टिनले अन्तिम किताब लेख्न भ्याइनसकेको हुँदा सिरिजका निर्माताहरूले उनलाई उछिन्न परेको छ

३ लेखन
मजाले लेखिएका कथाहरू, अचम्मलाग्दा दृश्य र स्पेशल इफेक्ट्स, रहस्यमय पात्र, कथाको बहाव अनि काल्पनिक कुराको भव्यता, यी देख्दा सिरिजका सर्जकहरू डेभिड बेनिअफ र डीबी वाइसको अद्भुत कामलाई सजिलै सराहना गर्न सकिन्छ।

यो सिरिज वास्तवमा जर्ज आरआर मार्टिनको किताब शृङ्खला सङ अफ आइस एन्ड फायरमा आधारित छ। राक्षस, जादु तथा ड्र्यागनहरू रहेको काल्पनिक दुनियाँ यो कथाको केन्द्रमा छ।

तर कहिल्यैपनि यस्ता रहस्यमय काल्पनिक दुनियाँबारे चासो नभएका दर्शकलाई पनि यसले तानेको छ किनकि यसमा गम्भीर राजनीतिक नाटक अनि षड्यन्त्रका विषय पनि छन्। अनि यी सबै खुब राम्रोसँग देखाइएका छन्।

४ पात्रहरू
उत्कृष्ट अभिनयको अतिरिक्त जसरी पात्रहरूको विकास क्रम देखाइएको छ, त्यसले पनि दर्शकहरूलाई तानिरहने काम गरेको छ। थाहा नै हुँदैन, कतिबेला नायकले जित्ने हो र कतिबेला खलनायकले।

वास्तवमा, आइस जम्बीहरू बाहेक, हरेक पात्रहरू ती चाहे जतिसुकै ुअसलु किन नहुन्, तिनलाई कोही अन्यको दृष्टिकोणमा खलनायक जस्तो देखाइएको छ।
नैतिकताको विषय व्यक्तिपरक बन्न पुग्छ र भिन्न भिन्न चरणमा नायक खलनायकमा परिणत हुन सक्छ वा खलनायक नायक बनिदिन सक्छ। खासमा यी बहुआयामिक पात्रहरूका यात्रा तथा सङ्घर्ष नै मूल आकर्षण हो।

५ भयानक महिलाहरू तथा महिलावाद
सुरुमा केही मानिसहरूले उक्त सिरिजमा देखाइएका अश्लील दृश्य, बलात्कार तथा महिलाविरुद्ध हिंसाका कारण यसलाई महिलाका निम्ति अपमानजनक भनेर गुनासो गरे, तर अहिले आएर धेरै मानिस यो सिरिज महिलावादी भएको ठान्छन्।

अन्तिम सिजनसम्म बाँकी रहेका महिला पात्रहरू बलिया र शक्तिशाली छन्। डेनेरिस ‘ड्र्यागनहरूकी आमा’ हुन् भने सान्सा एक रणनीतिकार अनि आर्याचाहिँ प्रशिक्षित घातक हत्याराको भूमिकामा छन्। सेर्सी त अब मुख्य दुश्मन छिन्।

यी सबै पात्रहरूले आ(आफ्नै किसिमका गम्भीर सङ्कट झेलेका छन्। तर पीडितको रूपमा रहिरहनुको साटो उनीहरूको यात्राले सङ्घर्षको गाथा गाउँछ। जसरी एक किशोरी आर्याले मुख्य खलनायक नाइट किङ्गलाई पहिले अपमानपूर्वक झुक्याइदिन्छिन् अनि पछि सिध्याइदिन्छिन् त्यसले पनि यी पात्रहरूको शक्ति चित्रित गर्छ।

६ सङ्गीत
कुनै पनि टेलिभिजन सो को सफलताको पछाडि त्यसमा प्रयोग भएको सङ्गीत यति धेरै कारक भएको दुर्लभ नै हुन्छ। तर सङ्गीत सर्जक रमिन जावादीले यो सफलता हात पारेका छन्। अझ खासमा जुन यो सिरिजको थिम वा मूल धुन छ त्यो त एउटा सांस्कृतिक पाटो नै बन्यो।

कसले त्यो गुनगुनाएको छैन होला र? आधुनिक टेलिभिजन कालमा यो सबभन्दा धेरै चिनिनेमध्येको गीत बनेको छ। त्यसबाहेक सिरिजका महत्त्वपूर्ण दृश्यहरूका साथसाथ पनि खास खास धुन बजाइएका छन्। ती धुनले पनि दृश्यहरूलाई परिभाषित गर्ने गरेको सर्जक बेनिअफ र वाइस बताउँछन्।

७ विवादास्पद कथा
यो पूरै काल्पनिक कथा वेस्टरोस भनिने ठाउँमा भएको देखाइन्छ, जहाँ मानव जातिका बर्बर तथा प्राचीनतम चाहनाको बर्चस्व छ। जहाँ कुनै नियम वा अवरोध छैन र जहाँ नैतिकता भनेकै पूर्ण स्पष्ट छैन।

अत्यधिक यौन दृश्य तथा सेन्सर नगरिएका विभत्स हिंसाका अतिरिक्त यसमा आफन्तबीच हुने यौन सम्बन्ध, बाल यौन दुराचार अनि अरूलाई दुःख दिएर प्राप्त हुने यौन आनन्दका कथा छन्। यस्ता दृश्यहरू मूलधार टेलिभिजनमा देखाएर दर्शकलाई अचम्ममा पारिन्छ।

कतिपयको सोचाइ के छ भने यो सिरिजको लोकप्रियता खासगरी मानवमा निहित कुनै नियममा नबाँधिने गरी एउटा पूर्ण उदार संसारमा बाँच्ने रहरसँग समेत जोडिएको छ।

८ ड्र्यागन
यस सिरिजमा कैयौँ मिथक जीव छन्ः ह्वाइट वाकर्स, कालो जादुले सिर्जना गर्ने डार्क स्पिरिट्स, डायरवुल्भ्स, राक्षस तथा तीन भयङ्कर ड्र्यागन। कम्प्युटरको माध्यमबाट सिर्जना गरिएका यस्ता जीव हेर्दा अत्यन्त जीवन्त लाग्दछन् र यिनलाई हेर्दा हामी आफैँ उक्त मनोरम स्थल, आइस वाल तथा आगो ओकल्ने ड्र्यागन भएको संसारमा पुगेको अनुभूति हुन्छ।

वास्तवमा कतिपयले त यसले हामीलाई त्यस्तो दुनियाँमा लैजाने मात्र होइन कि हाम्रै दुनियाँका बारे अनि आफ्नै जीवनका बारे कल्पनाशील भएर सोच्न बाध्य बनाउने ठान्छन्। यी त कलाका यस्ता निधि भएका छन्, जसले हाम्रा कल्पनालाई सन्तुष्ट पार्छन् अनि फेरि अझै त्यसको चाहना बढाइदिन्छन्।

शायद गेम अफ थ्रोन्सको उत्तम पक्ष भनेको यसले जसरी हामीलाई कल्पनाशील बनाइदिन्छ र बाल्यकालका परीका कथा सम्झाइदिन्छ। फरक यति हो कि यसमार्फत् हामीले वयस्कहरूका काल्पनिक दुनियाँमा निरन्तर सयरको मौका पाउँछौँ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू