विहीबार भगवान विष्णुको व्रत बस्दा के फल प्राप्ति हुन्छ ? (पूजा विधिसहित)

admin

विहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ ।

साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।

कसरी पूजा गर्ने ? पूजा विधि
बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । विहीबारको व्रत लिँदा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

पौराणिक कथा
पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए । उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक विहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे । तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफूले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे । त्यसबेला राजा शिकार खेल्न जंगल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन् ।

साधुरुप धारण गरेका गुरु वृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले विहीबारको दिन त्यसै गर्छिन् ।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन् । दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ । यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् ।

बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि विहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरु विहीबारको दिन व्रत बस्न थाल्छन् ।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ । दरबारमा सुख मिल्न थाल्छ । परदेश गएका राजा पनि फिर्ता आउँछन् । अतः विहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया