वि.सं. २०७५ फाल्गुन १३ गते सोमबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

आज वि.सं. २०७५ फाल्गुन १३ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, मध्यरात्रीपछि ०३:३४ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, आजको चन्द्रमा तुला राशिमा, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, ध्रुव योग, साँझ ०५:२० बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा वणिज करण दिउँसो ११:०० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका १०:४० बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:०१ देखि ०९:२७ सम्म, यमघण्ट : दिउँसो १०:५२ देखि १२:१८ सम्म, गुलिक काल : दिउँसो ०१:४३ देखि ०३:०९ सम्म


आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

प्रतिक्रिया