वीरगञ्जमा थप तीन जनाको ज्यान गयो, कोरोनाको कारण ज्यान गुमाउने संख्या ५५ पुग्यो

admin

वीरगञ्ज, १६ साउन : वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने थप तीन जनाको ज्यान गएको यसको पुष्टि गर्न बाँकी छ ।  दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो भने, कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो ।

उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज – १६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ । ३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो ।

ज्वरो आउने, श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ज्यान गएको डा. निरज सिंहले जानकारी दिएका हुन् ।

ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई अस्पताल लगिएको थियो । अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले बताए ।

यस्तै बिहीबार बिहान घरमै मृत्यु भएका वीरगञ्ज- २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको संक्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो ।

यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । बिहीबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाइकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउनमा मात्र पर्सामा ज्यान जानेको संख्या ८ पुगेको छ । योभन्दा अघि बारा र रौतहटका एक/एक जनाको वीरगञ्जमै ज्यान गएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया