शंकर पोखरेलद्वारा प्रचण्डलाई प्रहार : दोष दिएर उम्कन सकिन्छ ? (भिडियोसहित)

admin

काठमाडौं, १२ पुस : पार्टी विभाजन भएर तीनतिर हुँदा पनि नेकपा एमाले अहिले संसदको सबैभन्दा ठूलो दल नै मानिन्छ । आफ्नै पार्टीभित्रको अन्तरकलह सुलह गर्न नसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको तथ्य कसैका सामू छिपेको छैन ।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले (हिजो) आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा प्रहार गरेका छन् । इगोको राजनीतिले कहिलेकाहीँ असुहाउँदो भूमिका खेल्दोरहेछ, माओवादीको जुन महाधिवेशनको उद्घाटन सत्रमा देखियो ।

महासचिव पोखरेलले केपी शर्मा ओलीकै बोली बोल्छन् भन्ने कम्तीमा महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौं भित्रिएका माओवादी केन्द्रका कार्यकर्तालाई थाहा नहुने कुरै भएन । पोखरेल माओवादी केन्द्रको महाधिवेशनमा जसरी प्रस्तुत भए, त्यति सन्तुलित र संयमित सायदै अरु वक्ता थिए ।

चर्को दुश्मनी रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि उनले सम्मानसहित सम्बोधन गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको खिसिट्युरीको जवाफ यो मञ्चबाट दिने होइन भनेर पन्छिए । कम्युनिष्ट एकीकरणको कुरा गरे, क्रान्ति गरेर प्राप्त गरिएका उपलब्धी किन बचाउन सकिएन भनेर समीक्षा गरौं भने र भविष्यको चिन्ता गरे ।

एमालेको महाधिवेशनमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएको माओवादी एकदिन अघि एमाले अध्यक्ष ओलीलाई फोन गरेकै भरमा पार्टी महासचिवलाई अतिथिका रुपमा पाउनु माओवादी सभाको गरिमा बढ्नु हो ।

प्रगतिशील राजनीतिबाट अलि पर पुगेको एमाले नेतृत्वको पहिचान पछिल्लो समय अरु दललाई चर्को गाली गर्नु जस्तो बनेको छ । तर महासचिव पोखरेल आइतबार सन्तुलित सुनिए । नेकपा विभाजित हुँदाको पश्चताप पोखे ।

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ पोखरेलले भाषणमा आवाजको भोल्युम अलिकति बढाएर भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण महान् उद्देश्यहरुमा पछाडि परेका छौं ।’

उनले थप भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’ त्यतिखेर पनि माओवादीका महाधिवेशन प्रतिनिधि भरिएको हलले कुनै प्रतिक्रिया दिएन ।

उनले मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताउँदै नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि परिवर्तन ल्याउन नसकेको बताए । उनले राजनीतिक दलहरूले जनताको मनमा गुज्रिरहेका प्रश्नहरूमाथि गम्भीर भएर चिन्तन गर्नुपर्ने बताए ।

‘हामी ००७ सालदेखि सधैँ अधिकारको खोजीमा छौं, अधिकारका मामिलामा हामी सधैँ च्याम्पियन बन्यौँ, तर कर्तव्यका मामिलामा, राष्ट्रको विकास र समृद्धिका मामिलामा हामीले कुन रुपमा पूरा सक्यौँ, सकेनौँ भनेर मनन गर्ने बेला भएको छ, हाम्रा राष्ट्रिय महाधिवेशनहरूमा यी विषय छलफलको विषय बन्न सक्नुपर्छ,’ उनले भने ।

महासचिव पोखरेलले माओवादी आन्दोलनमा प्रशासनले दमन गर्दा आफूहरू त्यस त्यसको विरुद्धमा अभियानका रहेको स्मरण गरे । उनले बामपन्थी आन्दोलन सही दिशामा हिंडिरहेको छ भन्ने प्रश्न गरे । उनले संविधान निर्माणलाई कुनै दल विषेशको उपलब्धीको रुपमा मात्र कुरा गर्‍यो भने त्यो अन्याय हुने बताए ।

‘हामी एमाले र माओवादी केन्द्र बलियो बामपन्थी दल बनाउने हिसाबले देशव्यापी रुपमा चुनाव लड्यौ । जनताको भावनालाई सम्बोधन गर्दै नेकपाको रक्षा गर्न सकेनौ’ पोखरेलले भने,‘ समाज बदल्ने कुरामा हामी मिल्न सक्ने तर विकास र समृद्धिका कुरामा मिल्न नसक्ने कारण के हो ?’

उनले एउटै म्यान्डेटका कारण आफूहरूले जनमत पाएको । तर जनताको म्यान्डेट खण्डित भएपछि जनतामा जाने कुरालाई प्रतिगमन भनिएको उनले उल्लेख गरे । यस्तै ‘हाम्रो गन्तव्य एउटै छ फरक बाटोमा किन छौं,’ प्रचण्डले प्रश्न गर्दै गर्दा उनले स्वार्थमा अल्झँदा महान उद्देश्य बढ्न नसकेको टिप्पणी गरेका थिए ।

गिरिजाप्रसाद कोइरालाले तीनवटा क्रान्ति गर्ने सौभाग्य पाएको पुस्ता भनी आफूहरुलाई भनेको स्मरण गराउँदै पोखरेलले भने, ‘यो देशले निर्माणमा क्रान्ति खोजेको छ ।’ परिवर्तन कुनै दल विशेषको कारण मात्र नभई सामूहिकताको परिणाम भएको टिप्पणी गरे ।

यद्यपि एमाले र माओवादीको एकताका लागि आफूहरुले गरेको प्रयास इमान्दार भएको उनले बताए । एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताएका थिए ।

यो सामूहिकताको परिणाम भएको बताए । यसलाई कुनै दल विशेषको भन्दा आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले बताए । माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ ।

प्रतिक्रिया