शक्तिशाली कार बम आक्रमणमा कम्तीमा चारको मृत्यु

शर्मिला गुरुङ

काबुल, १७ जेठ (रासस÷सिन्ह्वा) : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिनुभयो । यो घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ ।

स्थानीय समय अनुसार बिहान ८:४० मा भएको उक्त घटनाका घाइतेको उद्धार कार्य जारी रहेको पनि बताउनुभयो । निकै शक्तिशाली बम बिस्फोट भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने प्रवक्ता राहिमीले जानकारी दिनुभयो ।

विगत दुई दिनभित्र काबुलमा बिस्फोट गराइएको यो दोस्रो घटना हो । बिहीबार सैनिक कलेजलाई लक्षित गरी भएको बिस्फोटमा सात जनाको ज्यान जानुका साथै अरु छ जना घाइते भएका थिए ।
उक्त दुबै घटनामा कसैले हालसम्म जिम्मेवारी लिएका छैनन्, तर अफगानिस्तानमा सक्रिय तालिबानी समूहको नै घटनामा संलग्नता रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया