शनिबार पहिलो खेल खेल्दै ‘बिगबाश’मा सन्दीप लामिछाने

admin

काठमाडौं, १७ पुस : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बाश लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वरेण्टीनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलबर्नको स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका सुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबाश लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वरेण्टीन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएका व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

उनी बुधबार क्वरेण्टीन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छन् । अहिलेसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबाशको तेस्रो स्थानमा रहेको छ । बिगबाश खेल्न लामिछाने गएको मंसिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वरेण्टीन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ ।

उनले तेस्रो पटक बिगबाश लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबाश मेलबर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट संक्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए ।

प्रतिक्रिया