शरणार्थीलाई स्थानीयकरण गर्न नहुने

admin

दमक, ९ कात्तिक : भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले स्थानीयकरण उचित नभएको जनाएको हो । शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती मात्र एक मात्र उपयुक्त विकल्प भएको समितिको निष्कर्ष छ ।

रासससँग कुराकानी गर्नुहँुदै समितिका अध्यक्ष डा भम्पा राईले २७ वर्ष लामो समयदेखि पूर्वमा बस्दै आएका भुटानी शरणार्थीलाई जबरजस्ती स्थानीयकरण गराउन खोजिदै गरेको आरोप लगाउनुभयो । शरणार्थीलाई एकतर्फी रुपले नेपालमा समायोजन गरिनु उपयुक्त नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शरणार्थीलाई जबरजस्ती स्थानीयकरण गराउन खोजिदैछ यो कदम उचित होइन ।”

शरणार्थीलाई स्थानीयकरण होइन, आत्मसम्मान र स्वाभिमानका लागि पनि भुटानको थातथलोमा स्थापित गराउनु आवश्यक भएको उहाँ बताउनुहुन्छ । नेपाली मूलका भुटानी शरणार्थीलाई स्थानीयकरण गराउने मामिला यहाँ बस्ने नेपालीका लागि समेत सामाजिक मुद्धाको विषय भएको डा राईको भनाइ थियो । उहाँले भन्नुभयो, “शिविरका शरणार्थीलाई स्थानीयकरण गराउँदा त्यसले पु¥याउने असरका बारेमा यहाँका नेपाली गम्भीर हुनुपर्छ ।”

उहाँले शरणार्थी मामिलाका विषयमा नेपाल र भुटान सरकारबीच भएका सबैले उच्चस्तरीय वार्ता सम्मानजनक नभएको समेत टिप्पणी गर्नुभयो । शरणार्थी समस्या सुल्झाउन १५ आँैं चरणसम्म द्विपक्षीय उच्चस्तरीय वार्ता भएको थियो । तर ती वार्ता निरर्थक मात्र होइन्, कुनै प्रतिवेदनसमेत सार्वजनिक नगरिकाएकाले सम्मानजनक नभएको उहाँको जिकिर थियो ।

उहाँले नेपाल सरकारले यस मामिलालाई प्रभावकारी उठान नगर्दा समेत शरणार्थी समस्या लम्बिन पुगेको गुनासो गर्नुहुन्छ । भुटान राष्ट्र सङ्घको एक सदस्य राष्ट्र भएकाले पनि राष्ट्र सङ्घमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई घर लैजान दबाब दिनुपर्ने उहाँको भनाइ थियो ।पूर्वको झापा र मोरङका दुईवटा शिविरमा भुटानी शरणार्थी बस्दै आएका छन् । अहिले ती शरणार्थीको सङ्ख्या छ हजारको हाराहारीमा सीमित हुन पुगेको छ । अन्तर्राष्ट्रिय दातृ निकायको पहलमा एक लाख छ हजार बढी शरणार्थी विभिन्न तेस्रो मुलुक पुर्नावास भइसकेका छन् ।
-रासस

प्रतिक्रिया