शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० पुस: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।

खेलको ३६औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गर्नुभएको थियो । उहाँले फ्रिकिकमा गोल गर्नुभयो । पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो । दास्रो हाफको ७२औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी ड्याडी जुनियर बाम्बाले गोल गर्नुभयो । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

जारी लिगमा सङ्कटाले तीन खेलबाट चार अङ्क बटुलेको छ भने जाउलाखेलले तीन खेलबाट पाँच अङ्क जोडेको छ । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख तथा छैंटौ हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया