शालीग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : सभापति देउवा

राष्ट्रिय समाचार समिति

गलकोट, २२ मङ्सिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालीग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालीग्राम सङ्ग्रहालय’ को आज उद्घाटन गदै उहाँले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको सङ्ग्रहालयले विश्वका धार्मिक पर्यटक आर्कषण गर्ने र लोप हुने अवस्थामा रहेका शालीग्रामको संरक्षण विश्वमै उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले सवालाख शालीग्राम एकै साथ दर्शन गर्न मिल्ने संरचना अन्त कतै नभएको दाबी गर्नुभयो ।

“कालिगण्डकी नदीमा मात्र पाइने शालग्रालाई संरक्षण आवश्यक थियो”, देउवाले भन्नुभयो, “निकै नौलो गरी संरक्षण थालिएकोमा म गौरवान्वित छु ।” रु छ करोडको लागतमा डेढ वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो । शालीग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । निर्माण नसकिँदै सङ्ग्रहालय अवलोकनका लागि आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो ।

सङ्ग्रहालयमा सवा लाख शालीग्राम, गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भूबनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयभित्र मुक्तिनाथ, मन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थललाई समेत सङ्ग्रहालयमा सजाइएको छ ।

शालीग्राम र गण्डकी सभ्यता देखाउने नक्शाङ्कनलाई सिसाभित्र सजाइएको छ । रु छ करोड मध्ये रु एक करोड मात्र सरकारी निकायको सहयोग हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटाइएको छ । सुरुङको दायाँपट्टी ११२ मानिस अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।

सङ्ग्रहालय घुमेको रु १०० शुल्क तोकिएको छ । विद्यार्थीले रु ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला गरिएको छ ।

प्रतिक्रिया