शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ : शिक्षामन्त्री श्रेष्ठ

admin

काठमाडौं, १७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा राजनीतिक परिवर्तनहरु भए पनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।

‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षा मन्त्रालय ​अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ । पञ्चायती कालको शिक्षाको ऐन अनुसार ।’ उनले भने, ‘अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुपर्‍यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । पञ्चायती व्यवस्था गएर बहुदल पनि गइसक्यो । लोकतन्त्र र गणतन्त्र पनि आयो । नियम चाहिँ त्यही छ । यसमा परिवर्तन हुनुपर्छ । यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ ?’

यस्तै उनले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरीय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

प्रतिक्रिया