शिवरात्रि : पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न मास्क अनिवार्य

admin

काठमाडौं, २६ फागुन : यो वर्ष मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हो ।

यस्तै (भोलि) बिहीबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ । शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ ।

कोषका अनुसार मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीनरतीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ । कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

साधुसन्तको संख्या पनि विगत वर्षको भन्दा कम हुने अनुमान छ । भोलिको शिवरात्रिका लागि झण्डै तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका कोषले जनाएको छ । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आजैदेखि झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तो यसपालि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन ।

दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ । ज्येष्ठ नागरिकका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ । पशुपतिनाथ मूल मन्दिरका चारै ढोका शिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छन् । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

प्रतिक्रिया