शीतलनिवासका कर्मचारी देउवालाई कुरेको कुर्‍यै, किन पुगेन माधव समूहको राजीनामा ?

admin

काठमाडौं, ३० बैशाख : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए बिहीबार नै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल- नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।

यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिरहेको छ । सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ । बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् ।

यता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म कांग्रेस-माओवादी गठबन्धनलाई कुर्ने भएका छन् । सरकार गठनको दाबी गर्ने समय बिहीबार राति ९ बजेसम्म तोकिएकाले कांग्रेस सभापति देउवाको टोली शीतलनिवास आउन सक्ने भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरु कुरेर बसिरहेका छन् । राति ९ बजेसम्म देउवाको टोली नआएमा केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवासको तयारी छ ।

प्रतिक्रिया