शुरु भयो तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम

admin

काठमाडौं, ३ असोज : तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको काम शुरु भएको आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिएका छन् ।

दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । ३० वटा टावर रहने प्रशारण लाइनको काम सन् २०२२ को मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत गृहको पनि काम भइरहेको छ ।

दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत गृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम सम्पन्न गरिसकेको छ । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एन्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए ।

पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । १४० मेगावाट क्षमताको आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रतिक्रिया