हराएका शोभाकान्त ३५ बर्षपछी परिवार भेट्दाको खुसि, आमाको फोटो हेरेर भावुक (भिडियोसहित)

admin

काठमाडौं, २४ साउन : उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासँग गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

करिब ७ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताएकी छिन् । सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उनले बताइन् । भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताएका छन् ।

काठमाडौंमा रहेका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताए । काठमाडौंमा रहेका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार जाने तयारी भएको भाइ रमेशले बताएका थिए ।

झण्डै ४६ वर्ष पुगेका दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उनले पनि अब परिवारसँगै रहने इच्छा जनाएको भाइ रमेशको भनाइ छ । हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ ।

प्रतिक्रिया