श्रीपञ्चमीमा लक्ष्मीको नाममा सरस्वतिको पूजा किन गरिन्छ?

admin

काठमाडौँ : आज माघ शुक्ल पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ । विद्याकी देवी ‘सरस्वति’ को आराधना गर्ने चलन छ। आजको दिनलाई सरस्वतिदेवीको सबैभन्दा मनपर्ने दिन भनिन्छ। जहाँ सरस्वतिको मन्दिर छन्, त्यहाँ विशेषगरी विद्यार्थी वर्ग, साना साना नानीहरु गएर सरस्वतिको आराधना गर्दै अक्षर लेख्ने गर्छन्। श्रीपञ्चमीको दिन सरस्वतिको आराधना ग¥यो भने शिक्षाबाट कहिले पनि विमुख हुनु पर्दैन भन्ने धारणा छ।

श्री को अर्थ, लक्ष्मी हो। सरस्वतिलाई पूज्ने दिनको लक्ष्मीको नामबाट किन परितिच छ त ? वादविवाद प्रतियोगीतामा चर्चित शिर्षक हो, ‘धन ठूलो कि विद्या’ । संस्कृतिविद् ओम धौभडेल एउटा कथा सम्झन्छन्, ‘एकपल्ट धनकी देवी लक्ष्मी र विद्याकी देवी सरस्वतिबिच झगडा परेछ, को ठूलो भन्नेमा। लक्ष्मी र सरस्वति ‘ऋद्धि र सिद्धि’ का स्वरुपहरु मानिन्छन्।

धन पनि आवश्यक छ र विद्या नभएको मान्छे मूर्ख हुन्छ। सम्पत्ति र विवेकको लडाईँमा विवेकले जित्यो तर धन पनि अपरिहार्य भएको कुरालाई नकार्न सकिएन। धन कमाउने बाटो भनेको विद्या हो। भनिन्छ, ‘हामी योग्य भयौँ भने हामीलाई कामले खोज्दै आउँछ।’ त्यसैले गणेशले ‘ऋद्धि र सिद्धि’ एक अर्काका परिपूरकको रुपमा परिभाषित गरेका छन्। अनि श्री को नाममा सरस्वतिको पूजा गर्ने चलन रहिआएको हो।’

संस्कृतिविद् धौभडेल भन्छन्, ‘हाम्रो समाजले सधैँ धनमात्र आर्जन गर्न अभिप्रेरित गर्छ। शिक्षा पनि उत्तिकै महत्पूर्ण छ भनेर आजको धन सँगै विद्याको पूजाआजा गर्ने चलन बसेको हुन सक्छ ।’ धौभडेलका अनुसार कुनै काम सुरु गर्नु पूर्व जहिले पनि गणेशको पूजा गरिन्छ। त्यसपछि धन चाहिएको भए लक्ष्मी र विद्या चाहिएको भए सरस्वतिको पूजा गरिन्छ। गणेशले शायद दुवैलाई सन्तुलन गर्नको लागि लक्ष्मीको नाममा सरस्वतिको आरधना गर्ने व्यवस्था बसालेको हुनुपर्छ।

हिन्दू र बाैद्ध समाजमा श्रीपञ्चमी महत्वपूर्ण दिन हो। वर्षभरि हुने पञ्चमीहरु मध्ये दुई पञ्चमी अलि महत्वपूर्ण मानिन्छन्, नाग पञ्चमी भन्दा पनि यसलाई विशिष्ट रुपमा लिइन्छ। किनकी आजको दिनलाई शिक्षा आरम्भ गर्ने दिन पनि भनिन्छ। वैदिक कालदेखि नै आजको दिन, कुनै सीप सिक्न, विद्या आर्जन गर्न, प्रविधि सिक्न सुरु गर्नु उत्तम मानिन्छ।

आजको दिनबाट धेरै बालबालिकाहरु विद्यालय जान सुरु गर्छन्। धौभडेलका अनुसार आजको दिन सरस्वति पूजा गरेर पढ्न सुरु गर्नु भनेको मनोवैज्ञानिक रुपमा आफूलाई बलियो बनाउनु हो। सरस्वतिको कण्ठमा छोएर आफ्नो कण्ठमा छोए कण्ठस्त हुने, सात गेडा चामललाई दाँतले नछोई निले सीप सिक्न सकिने र भित्तामा अक्षर लेखे अक्षर राम्रो हुन्छ भन्ने मान्यता छ। धौभडेल भन्छन्, ‘पूर्वीय दर्शनलाई समय परिवर्तन भएपनि हामीले छोड्न हुँदैन।’

यस्तै श्रीपञ्चमीलाई असाध्यै पवित्र दिन मानिन्छ। आजको दिन केही काम शुभारम्भ गर्नुप¥यो भने साइत हेर्न पर्दैन। जस्तो नेवार समाजमा आजको दिन धेरैले ‘यिहीं’ अर्थात् बेल विवाह गर्ने गर्छन्, आजको दिन व्रतबन्ध तथा विवाहको लागि पनि साइत हेर्नु पर्दैन। श्रीपञ्चमी विवाह पञ्चमीको रुपमा पनि परिचित छ।

भक्तपुरमा सरस्वतिपूजा
आज भक्तपुरको सुडाल क्षेत्रमा रहेको सरस्वति देवी भक्तपुर योसिङ्खेल स्थित मन्दिरमा हिँडेर आइपुग्ने विश्वास गरिन्छ। एक महिना अगाडि अर्थात पौष शुक्ल पञ्चमीदेखि नै सुडालको सरस्वति मन्दिरमा मेला लाग्छ।

आइतबार र बिहीबार मेला भर्न सुडाल पुग्ने दर्शनार्थी सरस्वति पूजाको दिन भने यसिङ्खेलमा आइपुग्छन्। श्री पञ्चमी आउने रात माता हिँडेर योसिङ्खेलमा आइपुग्ने र हिँडेर आउँदा खुट्टा दुख्छ भनेर योसिङ््खेलको सरस्वतिको खुट्टामा तेल लगाइदिने चलन छ।

प्रतिक्रिया