श्रीलंकामा अनुहार ढाक्ने पहिरनहरुमा लगाइयो बन्देज !

मनिषा थापा

एजेन्सी : श्रीलंकामा मुख छोपिने पहिरन लगाउन प्रतिबन्ध गरिएको छ। गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा तीन सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।

सोमबार देखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको भने उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरन बुर्का वा नकाब प्रति लक्षित रहेको देखिएको छ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताएका छन्। अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। यसबाट अब श्रीलंकाका मुस्लिम महिलाले पनि बुर्का लगाउन पाउने छैनन् । अन्य मुस्लिम देश जस्तो श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन भने लगाउँदैनन्।

तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ। शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो। एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो।

प्रतिक्रिया