श्रीलंङ्कामा संवैधानिक संकट झन बढ्दै, बर्खास्त प्रधानमन्त्रीका विश्वासपात्र पक्राउ

रिता घिसिंग

बीबीसी : श्रीलंङ्कामा उत्पन्न संवैधानिक संकटकाबीच बढ्दो तनावका माझ बर्खास्त गरिएका प्रधानमन्त्रीका एकजना बलिया सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।

अपदस्थ प्रधानमन्त्री रनिल विक्रमसिङ्गको मन्त्रिपरिषद्‌का इन्धनमन्त्री अर्जुना रनतुङ्ग गोली प्रहारको घटनामा एकजनाको ज्यान गएपछि गिरफ्तार भएका हुन्।

गिरफ्तार रनतुङ्ग पूर्वक्रिकेटर हुन्। उनका अङ्गरक्षकले भिडमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका छन्।
उक्त घटना उनी आइतवार राती मन्त्रालयमा प्रवेश गर्न खोज्दा भएको थियो। उनले आफू अझै मन्त्रीमा बहाल रहेको दाबी गर्दै आएका छन्।

विशेष सुरक्षा दलले भिडद्वारा घेराबन्दी गरिएका उनलाई नाटकीय रूपमा उद्धार गर्नु परेको थियो। सुरक्षाकर्मीको पोशाक र हेलमेट लगाइदिएर छद्म भेषमा उनलाई भवनबाट बाहिर निकालिएको समाचारहरुमा जनाइएको छ।

घटनापछि अर्जुना रनतुङ्गले कुरा गर्दै भने, उनीहरूले मेरो हत्या गर्न खोजेका थिए। रडसहित करिब ५० जनाको भिड भवनमा पस्यो। र, ती मध्ये एकजनाले मेरो अङ्गरक्षकको हतियार खोस्न खोजेपछि अङ्गरक्षकले गोली चलाएका हुन्। उनका अनुसार प्रमाणको निम्ति त्यहाँ सीसीटीभी पनि छ।

रनतुङ्गले भने, भिडले कस्तो व्यवहार गरेको थियो भन्ने कुरा मिडियाले त्यो ल्याएर हेर्न पनि सक्छन्। विशेष सुरक्षा दलले भिडद्वारा घेराबन्दी गरिएका अपदस्त सरकारका मन्त्रीलाई नाटकीय रूपमा उद्धार गर्नु परेको थियो ।

हटाइएका प्रधानमन्त्रीका विश्वासपात्र रनतुङ्गलाई छिट्टै अदालतमा उपस्थित गराउने ठानिएको छ। नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपक्ष समर्थक इन्धन युनियनहरूले तेल आपूर्तिमा अवरोध उत्पन्न गर्दै हडतालमा उत्रिएका थिए। जसका कारण इन्धन स्टेशनमा मानिसहरूको लामो लाइन लागेको थियो।

तर रनतुङ्गको गिरफ्तारीपछि युनियनहरूले हडतालका कार्यक्रम फिर्ता लिएका छन्।

प्रतिक्रिया