श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० साउन  : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान भरिरहेका छन् ।

उक्त एयरलाइन्सले नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारत तथा बङ्गलादेशका हवाई उड्डयन नियामक निकायको उडान अनुमतिपत्र (एओसी) पाएपछि भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदाबाद र बङ्गलादेशको राजधानी ढाकामा उडान भर्नेछ ।

प्राधिकरणबाट एओसीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताउनुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि श्री एयरलाइन्सले अन्तरराष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको र अब छिट्टै एओसी पाउने राससलाई जानकारी दिनुभयो ।

दुई दशकदेखि हेलिकप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तरराष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो । सोही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो ।

मन्त्रालयले छ महीनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि यही २७ गते उक्त एयरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरराष्ट्रिय गन्तब्यमा उडान विस्तार गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान भरिने छ । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । अन्तरराष्ट्रिय उडानका लागि एयरलाइन्सले आगामी शनिबार थप एक थान जहाज भित्र्याउँदैछ । क्यानेडियन जहाज निर्माता बम्मार्डियरको ८० सिट क्षमताको जहाज शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रबन्धक मानन्धरले जानकारी दिनुभयो । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ । रासस

प्रतिक्रिया