संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?

admin

काठमाडौं, कार्तिक ७ : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ ।

सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को न्यायाधीशलाई असहयोग गर्ने परिपाटी बढ्दै जाँदा सिंगो न्याय क्षेत्र बदनाम हुन पुगेको भन्दै सर्वोच्चका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘सर्वोच्चमा न्यायधीशहरूबीचमा नै एकले अर्कालाई समाप्त पार्ने खेल बढ्न थालेको छ, यसले न्याय क्षेत्रमा गम्भीर संकट आउन सक्ने भय बढेको छ,’ सर्वोच्चका एक अधिकारीले राजधानीसँग भने ।

उता सर्वोच्चको मुख्य कमान्डरका रूपका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशशेर जबरा शृंखलाबद्ध रूपमा विवादमा तानिँदै आएपछि न्यायालयप्रतिको विश्वासमा नै कमी आउन थालेको ती अधिकारीहरूको भनाइ छ ।

उनले न्यायालय प्रमुखको हैसियतमा न्यायालयलाई सन्तुलन हिसाबमा चलाउनुपर्नेमा निरन्तर कार्यपालिका र संवैधानिक आयोगमा भागबन्डा माग्न थालेपछि विवादमा तानिएका हुन् ।

यसो त यसअघि प्रतिनिधिसभाको दोस्रोपटक विघटनको मुद्दामा परमादेशको आदेश दिने अन्य वरिष्ठ न्यायाधीशहरूले पनि सरकारका विभिन्न निकायमा आफू निकटका व्यक्तिलाई नियुक्ति दिलाउन गोप्य रूपमा लबिङ गरिरहेको सरकार निकट स्रोतले जनाएको छ ।

प्रधानन्यायधीश माथि मात्रै होइन, न्यायालयमा गुटबन्दी गर्ने र विभिन्न साँठगाँठ गर्ने अन्य केही वरिष्ठ न्यायधीशहरू माथिसमेत छानबिन र कारबाही गर्नुपर्ने माग उठेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया