संकटालाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा

admin

काठमाडौं, १० माघ : साविक विजेता संकटा फुटबल क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४-१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो । मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे । यस्तै उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । उनले एकल प्रयासमा पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट उत्कृष्ट गोल गरे । खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । अविशेक रिजालको क्रसमा बल नियन्त्रणमा लिदै मेसुकेले सहजी गोल गरे ।

तर, खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २-१ को स्थितिमा ल्याए । अमित तामाङको कर्नरमा निरज बस्नेतको हेडर क्रसमा गणेशले हेडमार्फत गोल गरे ।

अविशेकले खेलको ८४ औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो । ओमोलोजा करिमको फ्रि-किक संकटाका गोलकिपर राजाबाबु थापाले बचाएपछि आएको रिबाउन्डमा अविशेकले पोस्टको जाली चुमाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-१ को सहज जित दिलाए । नाथनियलको पासमा उनले सहजै गोल गरेका हुन् ।

अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया