संक्रमितको संख्या १८ हजार नाघ्यो, चिनियाँ नागरिकसहित थप दुई जनाको मृत्यु

admin

काठमाडौं, ७ साउन : बुधबार काठमाडौंका ३ जनासहित १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको डा. गौतमले जानकारी दिए । बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताए ।

अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् । बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी वितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । मृतकमध्ये एक धनुषाका ६० वर्षीय पुरुष र अर्की पोखरामा एक वर्षदेखि व्यापार गरिरहेकी एक ४९ वर्षीया चिनियाँ महिला भएको मन्त्रालयले जनाएको छ ।

धनुषाका ती व्यक्तिलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वसास्थ्य विज्ञान प्रतिष्ठानमा गत साता साउन २ गते भर्ना गरिएको डा. गौतमले बताए ।

उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरमरा राखी उपचार गर्दै गर्दा मंगलबार मृत्यु भएको थियो । म’रणोपरान्त गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

पोखरामा भएकी चिनियाँ नागरिकलाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको जानकारी मन्त्रालयले दिएको छ ।

उपचारका क्रममा परीक्षण गर्दा उनमा कोभिड-१९ पुष्टि भएको थियो । थप उपचारका लागि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको बुधबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत असार १९ गते सर्वाधिक ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि दैनिक पुष्टि हुने संक्रमितको संख्या घटिरहेको छ । भारतबाट घर फर्किने मानिसको संख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको संख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ ।

प्रतिक्रिया