संविधानमा सबैको अधिकार समेटिएको छ : नेता ज्ञवाली

राष्ट्रिय समाचार समिति

राँझा, ४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले संविधानमा सबैको अधिकार समेटिएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित सशक्तिकरण एवम सञ्चार केन्द्र डेक नेपालको १२औँ साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार पनि संविधानमा समेटिएकाले निराश नहुन आग्रह गर्नुभयो ।

“संविधानमा सबैका अधिकार समेटिएका छन्”, नेता ज्ञवालीले भन्नुभयो, “आफ्ना अधिकार स्थापित गर्न कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिले अझ सङ्गठित भएर सरकारलाई दबाब दिन सक्नुपर्दछ ।” उहाँले नेपालको संविधान धेरै राम्रो भएको बताउदै आवश्यक परे परिमार्जन गर्न सकिने धारणा राख्नुभयो । नेता ज्ञवालीले नेत्रविक्रम चन्द विप्लव समूहले समातेको बाटो गलत भएकाले शान्तिपूर्ण रुपमा राजनीतिमा आउन आग्रह गर्नुभयो ।

“सरकारले विप्लव समूहसँग औपचारिक रुपमा छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जनता हिंसा चाहँदैनन् । अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यकता छैन ।” कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल, कृष्णा केसी, नेकपा बाँकेका सचिव अशोक कोइराला, नेपाली काङ्ग्रेसका नेता सुधांशु कोइरालालगायतले अपाङ्गताको अधिकारको पक्षमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया